दाङ देउखुरी /लमही । देउखुरीको लमहीमा अनलाइन जुवा तथा सट्टेबाजी खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चार जना भारतीय नागरिक र एक जना नेपाली नागरिक छन्।
शुक्रबार राति लमही नगरपालिका–५ स्थित रातोडाँडामा रहेको जसमिन होटल एण्ड लजको तेस्रो तलाको कोठा नम्बर २०३ मा अनलाइन जुवा तथा सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङ र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा अनलाइन जुवा तथा सट्टेबाजीमा प्रयोग गरिएका विभिन्न विद्युतीय उपकरण बरामद गरेको हो।
प्रहरीका अनुसार घटनास्थलबाट तीन थान ल्यापटप, विभिन्न कम्पनीका १३ थान स्मार्टफोन र दुई थान कम्प्युटर मनिटर बरामद गरिएको छ। पक्राउ परेकाहरूले विभिन्न एप्लिकेसनमार्फत अनलाइन जुवा तथा सट्टेबाजी खेल्ने र खेलाउने काम गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेहरूमा भारतको मध्यप्रदेशस्थित शंकराचार्य नगर, हुजुर, सिकन्दरी सराय, भोपाल निवासी २४ वर्षीय जसवन्त सिंह तोमर, गीता नगर, भानपुर निवासी २४ वर्षीय सत्यम राजपुत, लिलाधर कालोनी, भानपुर, हुजुर, पिपुल्स क्याम्पस, भोपाल निवासी २४ वर्षीय हर्ष सिंह उर्फ हर्ष उसरेट, २७ वर्षीय राहुल चन्द र डोटीको सिलगढी नगरपालिका–३ निवासी ३२ वर्षीय सागर राना रहेका छन्।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























