दाङ देउखुरी । नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) को लुम्बिनी प्रदेश सभापतिमा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका राणा सोमबार राति देउखुरीको पाखापानीमा सम्पन्न देउवा पक्षको दोस्रो प्रदेश अधिवेशनबाट सभापतिमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्युठान जिल्ला निवासी राणाले यसअघि लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनको नेतृत्वमा प्रदेशस्तरमा देउवा पक्षको सङ्गठन थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, सभापतिमा राणा सर्वसम्मत निर्वाचित भएपछि लुम्बिनी कांग्रेसका संयोजक गेहेन्द्र गिरीले उनलाई शुभकामना तथा बधाई दिएका छन् । अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनमा देउवा पक्षका प्रदेश तथा जिल्ला तहका नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको छ ।

























