दाङ, असार-१६।
जिल्ला प्रशासन कार्यालय दाङद्वारा विपद व्यवस्थापन सम्बन्धी जरुरी सूचना जारी गरिएको छ ।

हालै मनसुन सक्रिय भई दाङ जिल्ला वरिपरि समेत भारी वर्षा हुने मौसम विज्ञान विभागले आँकलन गरेको हुँदा सोबाट बाढी , पहिरो, चट्याङ , नदी कटान जस्ता विपदजन्य घटना हुन सक्ने जोखिम बढेकोले यस क्षेत्रमा बसोबास गर्ने जिल्लाबासीहरुले विपदको समयमा अझ बढी सतर्कता अपनाउन पर्ने अवस्था रहेको जनाइएको छ ।
आ-आफ्नो भूगोलमा बसोबास गरेका आम पालिकाबासीहरुलाई स्थानीय विपद व्यवस्थापन समितिबाट मनसुनजन्य पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार कार्य गर्न र स्थानीय सुरक्षा निकायसंगको नजिकको सम्पर्क राखी तत क्षेत्रमा QRT तयारी गरि प्रतिकार्यमा जुटन स्थानीय तहलाई अनुरोध समेत गरिएको छ ।
राजनितीक दलहरु, सुरक्षा निकायहरु, विभिन्न क्षेत्रगत क्लस्टरहरु , रेडक्रस , विपदका क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरु, नागरिक समाज, लगायत सबैलाई सतर्कता अपनाउन आग्रह गर्दै आम संचार माध्यमहरुले विपदसंग सम्बन्धित सामाग्री सहित प्रचारप्रसार गर्न र सरोकारवालाहरुले विपद सम्बन्धी घटनाको तत्काल सूचना आदान-प्रदान गर्न हुन समेत अनुरोध गरिएको छ ।
























